नेवा:खाना बनाउन सक्ने २ जना कुक तुरुन्त चाहियो
नेवा:खाना बनाउन सक्ने २ जना कुक तुरुन्त चाहियो /
संपर्क : लाल :080-3706-6980 東京
जापानमा नेपाली छात्रा बेपत्ता
सन्तोष घिमिरे, (काठमाडौं)
अध्ययनका क्रममा जापान पुगेकी एक नेपाली युवती विगत ३८ दिनदेखि हराइरहेका छ।
ललितपुर, पुल्चोककी २१ वषीर्या सविना महर्जन जापानी भाषाको दुईवर्षो कोर्स अध्ययनका लागि गत वर्षवैशाखमा जापान गएकी थिइन्। स्थानीय फुकोओकास्थित एसिया जापानिज एकेडेमीमा अध्ययनरत उनी गत भदौ ८ गते बस्ने गरेका एकेडेमीकै छात्रावासबाट काम छ भनी बाहिर निस्केको र हालसम्म सम्पर्कमा नआएको बताइएको छ।
परिवारकी कान्छी छोरी उनी भदौ १५ गतेपछि सम्पर्कमा नआएकी बुबा सानुलाल महर्जनले आइतबार नेपाल समाचारपत्रलाई बताए। सो एकेडेमीका नेपाली निर्देशक धर्मराज अधिकारीले सविना हराएको बारे परिवारजनलाई जानकारी गराएका थिए। परराष्ट्र मन्त्रालयमार्फ जापानस्थित नेपाली दूतावासको पहलमा जापान सरकार तथा त्यहाँको स्थानीय प्रहरीमा सविनाको खोजीका लागि आफूले पहल गरेको महर्जनले बताए।
मन्त्रालयका एक अधिकारीले दूतावासमार्फ सविनाको खोजीका लागि पहल गरिदिन आग्रह गरेको केही दिनमै जापान सरकार तथा स्थानीय प्रहरीमा अनुरोध गरिएको भए पनि जापानले हालसम्म कुनै प्रतिक्रिया नदिएको बताए। ‘हामीले मन्त्रालय र दूतावासबाट आवश्यक पहल गरेका छौं तर जापानले किन बेवास्ता गरेको हो बुझ्न सकिएन’ -उनले भने। उनले राजदूत गणेश योञ्जनमार्फ सविनाको खोजीका लागि काम भइरहेको र एक/दुई दिनमै केही थाहा लाग्ने दाबी गरे।
सविनाका परिवारजन उनी अपहरणमा परेको हुन सक्ने आशंकामा चिन्तित छन्। ‘सविनाले प्रयोग गर्ने मोबाइलमा उनी हराएपछि पटकपटक सम्पर्क गर्ने प्रयास गर्यौं तर सम्पर्क हुनै सकेन’, बुवा सानुलालले चिन्तित मुद्रामा भने- ‘कसैले प्रलोभनमा पारेर अपहरण पो गरेकी भन्ने हामीलाई ठूलो पीर छ।’
उनले पछिल्लो पटक बडादशैंको टीकाको दिन सोही मोबाइलमा फोन गर्दा अपरिचित मानिसले नबुझ्ने भाषामा केही बोलेजस्तो गरी मोबाइल राखेको र स्विच अफ गरेको बताए।
पारिवारिक स्रोतका अनुसार सानुलाल छोरीको खोजीका लागि पहल गरिदिन आग्रह गर्दै प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न राजनीतिक दलका नेतासँग भेट्नका लागि धाइरहेका छन्। सविनाका बुबाले जापानमा रहेका नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति र नेपालीहरूका विभिन्न संगठनमा पनि सम्पर्क गरेका छन् तर छोरीको कुनै पत्तो लगाउन सकेका छैनन्।
जापानमा अध्ययनमा पुग्ने कतिपय नेपाली विद्यार्थी ‘याकुजा’ नामक आपराधिक संगठनको अपहरणमा पर्ने गरेको पाइएको छ। अपहरण गरी जबर्जस्ती नाइटक्लबमा काममा लगाउने र थुन्ने उदाहरणहरू पाइने गरेकाले त्यसप्रति नेपाली विद्यार्थी सचेत हुनपर्ने एक प्रहरी अधिकृतको सुझाव छ।
तर सविनाको स्थिति पत्ता लगाउन परराष्ट्र मन्त्रालयले नै विशेष पहल गर्नुपर्ने उनले बताए।
उनले छोराछोरीलाई विदेश अध्ययनमा पठाएपछि भरपर्दो सुरक्षा प्रबन्ध र निगरानी गर्ने व्यवस्था भएका कलेजमा मात्रै भर्ना गर्न अभिभावकहरूलाई आग्रह गरे। जापानमा प्रत्येक वर्षसयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययन गर्न जाने गरेका छन्। कतिपय छात्रवृत्ति पाएर जापान अध्ययन गर्न जान्छन् भने कोही स्वेच्छामा जाने गरेका छन्।
Nepal Samacharpatra
सुर्ती-व्यापारी मुगल राय यादवसँग एसएसबीका सुरक्षाकर्मीले घुस मागेपछि विवाद - यादवलाई बिहान ८ बजे नियन्त्रणमा लिएर साँझ ७ बजेसम्म कुटपिट - रन्थनिँदै साँझ घर पुगेका यादवको तत्कालै मृत्यु - आक्रोशित स्थानीय बासिन्दाद्वारा सीमावर्ती बजार बन्द, दोषीमाथि कारबाही नभएसम्म अन्त्येष्टि नगर्ने अडान
अशोक पहाडी/नयाँ पत्रिका
रौतहट, १८ असोज
भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले एक नेपालीलाई पिटी-पिटी मारेका छन् । भारतीय सुरक्षाकर्मीको ज्यादती बढ्दै गए पनि नेपाल सरकार मौन बसेको छ भने सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् ।
रौतहटको सीमावर्ती सुमुजवा- ८ का मुगल राय यादवलाई नियन्त्रणमा लिएर एसएसबीका सुरक्षाकर्मीले चार घन्टासम्म कुटेका थिए । चरम यातना पाएर घर फर्किएका यादवको राति मृत्यु भएको हो ।
शनिबार बिहान साइकलमा दुई बोरा सुर्ती लिएर यादव बिहारको जमुनी बजार जाँदै थिए । सुर्ती-व्यापारी यादवसँग एसएसबीका अधिकारीहरूले पैसा मागेपछि विवाद भएको थियो ।
पैसा दिन नमानेपछि उनलाई बिहान ८ बजे पक्राउ गरी दिनभरि चरम यातना दिइएको थियो । दिनभरि कुटेपछि उनलाई साँझ ७ बजे छाडिएको थियो । कुटाइ खाएर घर फर्किएका ३५ वषर्ीय यादवको तत्कालै मृत्यु भएको स्थानीय बासिन्दा आदर्श उपाध्यायले बताए । उनको शरीरभरि नीलडाम रहेको आफन्तले बताएका छन् ।
भारतीय सुरक्षाकर्मीको ज्यादतीविरुद्ध स्थानीय नेपाली व्यापारी तथा सर्वसाधारणले आइतबार बिहानैबाट रौतहटको बंकुल नाका बन्द गराएका छन् । तरकारी किन्नसमेत बंकुल नाकाब्ााट बिहारको जमुनी बजार जान बाध्य नेपालीहरू एसएसबीका कारण त्रसित र आक्रोशित छन् ।
स्थानीय बासिन्दाले यादवको शव बंकुल बजारमा राखेर विरोध प्रदर्शन गरिरहेका छन् । अनुसन्धान गरी दोषीलाई तत्काल कारबाही गराउन नेपाली प्रशासनले पर्याप्त चासो नदेखाएको स्थानीय बासिन्दाको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी घनानन्द भट्टले मृतकको शव पोस्टमार्टम गर्न सदरमुकाम गौर ल्याउन आदेश दिए पनि स्थानीय बासिन्दाले शव सदरमुकाम ल्याउन दिएका छैनन् ।
उता रौतहटका प्रमुख जिल्ला अधिकारी डाक्टर कम्लेश्वरकुमार सिन्हाले आफूले घटनाबारे बिहारका अधिकारीसँग कुरा गरेको र सो घटनाका बारेमा छानबिन गरिने आश्वासन पाएको बताएका छन् । ‘मैले बिहारका अधिकारीहरूसँग कुरा गरिसकेको छु, उताबाट जवाफको प्रतीक्षा गरिरहेका छौँ,’ उनले भने ।
मृतकका आफन्तले प्रशासन फोन गरेर झारा टार्ने काममा लागेको आरोप लगाए । ‘सीमाक्षेत्रमा कुनै भारतीयले कुटाइ मात्र खान्थ्यो भने भारतीय सरकारले अहिलेसम्म के गरिसक्थ्यो ?,’ मृतकका दाजु जेगेन्द्र यादवले भने, ‘यता भने एउटा नागरिकको ज्यान जाँदा पनि प्रशासन झारा टार्दै छ ।’ उनले एसएसबीका दोषी अधिकारीलाई कारबाही नगरेसम्म शव उठाउन नदिने बताए ।
एसएसबीको ज्यादती रौतहटमा मात्र होइन, सीमावर्ती क्षेत्रका सबैजसो नेपालीले बेहोर्दै आएका छन् । जनताले कुटाइ खाइरहेका छन्, तर सरकार मौन बस्दै आएको छ ।
Naya Patrika
